• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

`बौलाहा दुर्गे´ले उठाएका प्रश्न र आजको राजनीतिक सङ्कट

– ज्योतिकिरण

नेपाली राजनीतिमा अहिले राजनीतिले फेल खाएको छ । फेल खाएको राजनीतिलाई देखेर मानिसहरूको अतालिएको मनले हर्क बालेन,गोपी हमाल देखि रविसम्मका भूमिकाहरुमा कुनै न कुनै रुपको बैकल्पिक दृष्टि उभ्याउने प्रयत्न समेत गर्‍यो तर यो प्रयत्न यस्तो हतार र रफ्तारमा छ कि बालेन,हर्क,गोपीहरु अग्नि परीक्षामा छिरिसकेका छन् भने बेचैन जनजीवनका लागि रवि अहिले कुहिएको बासी भात सरह भइसकेका देखिन्छन् । आधारभुत जनतालाई एक मिनेट कतै मौन रहनु पनि लाख वर्ष जस्तो कठिन हुन थालेको छ त्यसैको परिणाम त अहिले दुर्गा प्रसाईँ ताजा,पोषण युक्त र जवरजस्त भोकको उर्जा भएर पर्दामा देखिएका छन् र उनी साच्चिकै राष्ट्रिय रुपमा मात्र होइन अन्तराष्ट्रिय सञ्चारमा समेत रुचिकर युक्त चर्चा र चासोको केन्द्रमा छन् ।
चर्चा काङ्ग्रेस एमाले,माओवादीकै हुनु पर्ने हो,साना ठूला राजनीतिक दल र शक्तिमा खेली आएका खेलाडीहरु नै पर्दामा रहनुपर्ने हो तर यस्तो भइरहेको छैन ।
यस्तो किन भइरहेको छैन त ? दल र तिनका नेता कार्यकर्ताले यो उत्तर खोज्नै पर्ने थियो तर खोज्ने र बुझ्ने कुरामा आज दल र दलका कुनै पनि सदस्य लागेको देखिदैन। टाउका माथि फाटेको झोलामा साथु सामल बोकेर रुँदै काठमाडौँ आइपुगेका अबोध जनताले कठालो छेउमा उभिएर प्रश्न गरिसक्दा पनि पार्टी नेता र कार्यकर्ताहरुको खोपडीको बिर्को उघ्रेला जस्तो देखिदैन । यदी यि दलहरू र दलका नेता कार्यकर्तालाई भित्री सच्चाइ थाहा हुन्थ्यो भने उनीहरुले दुर्गा प्रसाईँलाई मोसो दल्ने र `बौलाहा´ घोषणा गर्ने थिएनन् ।
आज उठेको प्रश्न र सङ्कट:-
३० वर्षदेखि हाम्रो नेतृत्व वर्ग देशलाई स्विजरल्याण्ड र सिङ्गापुर बनाउने र जनतालाई विकास दिने नारा लगाउँदै सत्तामा पुग्ने गरेको छ । सरकारको नेतृत्व गरेका कांग्रेस, एमाले, माओवादीनामका उदारवादी र वामपन्थीहरूले नै आज सम्म यस्तो नारा लगाएर मिलिजुली सत्ताको भोगचलन गरि आएको नेपाली समाज अहिले चरम आर्थिक र राजनीतिक संकट झेलिरहेको छ। गरिबी, बेरोजगारी, युवा पलायन, पारिवारिक समस्या, शिक्षा र स्वास्थ्य सेवामा पहुँच र गुणस्तरमा गिरावट, औद्योगिकीकरणको अभाव, लघुवित्त,सहकारी र वित्तीय मिटर ब्याजीको शोषण र परिवारहरूको उठिबासको समस्या, अविकास, पूर्वाधारहरूको लथालिंग अवस्था, भ्रष्टाचार र कुशासन बेहोरिरहेको छ र यसका लागि यिनै उदारवादी र वामपन्थीहरू जिम्मेवार छन् । यो सत्य चर्को स्वरमा जनतालाई सुनाइरहेको दुर्गा प्रसाईँलाई नै आज पार्टीका नेता कार्यकर्ताले `बौलाहा दुर्गे´ भनिरहेका छन् र `बौलाहा दुर्गे´ निडरता पुर्वक जनतालाई यो सुनाइरहेको छ।
पछिल्ला १७ वर्षको समयावधिका सन्दर्भमा यस्तो जिम्मेवारी वामपन्थीहरूको बढी छ । किनभने यस बिच माओवादी र एमालेका गरी पाँच वामपन्थी नेता (प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, केपी शर्मा ओली) प्रधानमन्त्री भएका छन् । सबैभन्दा बढी समय सरकारको नेतृत्व ओलीले गरेका छन् । यसैले यस बिच देशमा जेजस्तो नीतिगत कारणले आर्थिक-सामाजिक संकट सिर्जिइएको छ, त्यसका लागि सबैभन्दा बढी वामपन्थीहरू नै जिम्मेवार छन् । शक्तिकेन्द्रसँगका जायज वा नाजायज सम्बन्धले थोपरेका अदृश्य थुप्रै संकटको योगदान पनि यसमा जोडिन्छ । यसरी हेर्दा प्रष्ट के देखिन्छ भने, नेपालको अहिलेको अर्थराजनीतिक जटिलता वामपन्थी र उदारवादीहरुले सृजना गरेको संकट हो। यो सङ्कट किन सिर्जना गरेको ? यस्तो गर्न पाइन्छ ? `बौलाहा दुर्गे´ले जिम्मेवार पुर्वक सडकबाट यो प्रश्न गरिरहेको छ। के यो प्रश्न गलत छ ?
पञ्चायतका समयदेखि संवैधानिक राजा र राजसंस्था सहितको एउटा बनिबनाउ राजनीतिक प्रणालीलाई सामान्तवादी राज्य व्यवस्था भन्दै तोडेर सरकारको नेतृत्वमा आएका दल,दलका नेता र कार्यकर्ताहरुमा अर्थतन्त्रका संरचनागत संकटहरू, कर्मचारीतन्त्रको भ्रष्ट चरित्र,परिवारवाद,नोकरसाही लुटको प्रणालीलाई पञ्चायतको काँधबाट सरक्क आफ्ना काँधमा सारेर नव सामान्त बन्न हुन्छ कि हुँदैन ? नयाँ राजा बन्न हुन्छ कि हुदैन ? यो के गरेको लुटेरा सामान्त हो ? गरिबलाई यसरी किन लुट्छौ? `बौलाहा दुर्गे ´यो भनिरहेको छ। के उस्ले भनेको यो कुरा झुटा आरोप मात्र हो ?
सामान्ती संचनाले हुर्काएको आजको दलाल पूँजीपति वर्ग र यस्ले गरेको सम्झौताका कारण अर्थतन्त्र भित्रको संरचनागत लुटपाटमा किन सामेल छ् यो नेतृत्व ? खोइ यसमा गणतन्त्रको हस्तक्षेप ? आप्रवासी बिचौलियाको पञ्जाबाट किन हटेन नेपाली जनतामाथिको अवरोध ? सत्र हजार नेपालीको ज्यान जाने गरी युद्धको खेल खेलेर सत्तामा आएको माओवादीको काम पनि दलाल पुँजीवादकै खातिरदारी हो ? सहरिया सम्भ्रान्त र नयाँ सामन्त बन्ने छुट छ ? खै आज कहाँ छन् तिम्रा क्रान्तिकारी आधार ? माओवादी नेतृत्वको सरकार पनि सर्लक्कै एमाले काङ्ग्रेस जस्तै भए पछि राजा फाल्नुको औचित्य पुष्टि हुन्छ ? के आधारमा यो पुष्टि हुन्छ ? `बौलाहा दुर्गे´ आज यो प्रश्न गरिरहेको छ । के यो प्रश्न नाजायज प्रश्न हो?
नेपालको आर्थिक प्रणालीलाई सीमित पूँजीपति र भारतीय पूँजीको सेपबाट मुक्त गराउने प्रयास भएन । अर्थतन्त्र र वैदेशिक व्यापारमा भारत र त्यहाँको पूँजीपति वर्गसँग लहसिएको अप्राकृतिक वर्ग सम्बन्धको हिस्सा र एकलौटी जस्तो वर्चस्व छ, जसले गर्दा स्वतन्त्र ढंगले राष्ट्रिय पूँजीको विकास र राष्ट्रिय पूँजीपतिको उत्थान अवरुद्ध भएको छ । आर्थिक सुधारका नीतिहरूको उपयोग गर्दै शिक्षा, स्वास्थ्य, बैंक तथा वित्तीय क्षेत्रसहितको सेवा उद्योगमा दलाल पुँजीको आडमा माफिया घरानाहरूको नियन्त्रण छ । सानो हिस्सा कमिसनको दरिद्र स्वार्थमा मुलुकका सबै उद्योग कलकारखाना , प्राकृतिक,जैविक र खनिज श्रोत समेत पुरै बिचौलियाको हातमा सुम्पने र त्यो क्षेत्र पूरै डुबाउने कुकर्म इतिहासदेखि आजसम्म निरन्तर चलिरहेको छ। हरेक दल र त्यसको नेतृत्वलाई उही पूँजीपति घरानाले खरिद गर्ने, राजनीतिक हैसियत किन्ने, नीतिनिर्णयमा प्रभावित गर्ने एवं राज्यका स्रोत र नीतिको दोहन गरेर नाफा कमाउने बिचौलिया पूँजीपति वर्गको उत्थान ‘ मात्र भएको छ । मिहिनेतपूर्वक उद्योग-व्यापार गरेर आफ्‌नो हैसियत उठाउनु आज देशभक्तहरुलाई आकाशको तारा खसाउनु जस्तै जठिन भएको छ । राज्यका अंगहरू, राजनीतिक नेतृत्व तथा प्रहरी समेत ठेक्कापट्टा गर्ने र कमिसनको खेती गर्नेहरूको परजीवी वर्गमा विकास भएको छ ।
यही कारण औद्योगिक पूँजीवादको विकास अवरुद्ध भएको छ । युवाहरू रोजगारीका लागि आधुनिक दास भएर बिदेशी भुमिमा पुग्न बाध्य भएका छन् । कृषि तथा औद्योगिक क्षेत्र दुवैमा उत्पादनशील श्रम शक्तिको अभाव हुने अवस्था आएको छ । मध्यम तथा साना किसानहरू र उनीहरूसँगै गरिब तथा भूमिहीन किसानहरू बाहिरिने क्रम बढ्दै गएको छ। राष्ट्रिय अर्थतन्त्रमा उद्योग र कृषिको योगदान तीव्र रूपमा घट्यो । राम्रो भएको भनिएका सडक पूर्वाधार, विद्युतीकरण, सञ्चार, पर्यटन र सहरीकरणको समेत उपयोग गर्ने जनसक्ति नहुदा त्यसकै औचित्यमाथि प्रश्नहरु देखा पर्न थाले । सडक,सहरीकरण वा अरु कुनै कुराले पनि नेपाली जनजीवनमा खास उत्पादनमूलक उद्योग फस्टाउने गरी वातावरण बन्न सकेको स्थिति छैन । सेवा क्षेत्रको रोजगारीको ठूलो हिस्सा मुस्किलले स्वरोजगार बन्ने प्रयत्नका खुद्रा र सामान्य व्यवसायले धानेको छ । संकटका अनेक हाँगा छन् । आर्थिक मन्दी छाएको छ। जनताको अर्थतन्त्र यस्तो हुन्छ ? यो के व्यवस्था हो ? `वौलाहा दुर्गे´ यो प्रस्न गरिरहेको छ । के यो प्रश्न नाजायज छ ?
देश निरन्तर ओरालो लागेको छ । मागमा आएको कमिका कारण आयात-आधारित राजस्व खस्केको छ। साधारण बर्च धान्ने हैसियत सरकारसँग छैन । पसलहरू बन्द छन् । घर-सटरहरू खाली छन् । सेयर बजार ओरालो लागेर हजारौंको लगानी डुबेको छ । घरजग्गा कारोबार घटेको छ । विदेश जाने क्रम अत्यास लाग्दोसँग बढेको छ। धेरै सार्वजनिक विद्यालयहरू पार्टीकार्यकर्ता भर्ती गर्ने राजनीतिको अखडा भएका छन् । महँगी बढिरहेको छ । बेरोजगार हुनु र महँगी बढ्नुले संकट भान्सासम्म प्रवेश गरेको छ । समग्रमा, माग र आपूर्ति दुवै खुम्चिदै छन् । तत्काल यसमा सुधारका संकेतहरू छैनन् । ६० प्रतिशत जनसंख्यालाई रोजगारी दिने कृषि क्षेत्रले जीडीपीमा २३ प्रतिशत मात्र योगदान दिन थालेको छ । देशको यस्तो भयावह अवस्थामा पनि बैँकहरूले डरलाग्दो नाफा कमाउने र सीमित घरानाको सम्पत्ति अस्वभाविक रुपमा चुलिने क्रम आज डरलाग्दोसँग चलिरहेको छ । यसै कुरालाई जनता टाट पल्टिने, अनि दलाल पुँजीका अड्डाहरुमा लुटको स्वर्ग चल्ने यो कस्तो गणतन्त्र हो ? `बौलाहा दुर्गे´प्रश्न गरिरहेको छ के यो प्रश्न गलत हो ?
यी संकटका संरचनागत कारण छन् । यस्ता संरचनागत कारणमाथि हस्तक्षेप नगर्ने हो भने हामी थप ओरालो लाग्नेछौं । प्रस्ट औद्योगिक नीतिहरू सहित वस्तु उत्पादन तथा सेवा उद्योगहरूलाई प्रोत्साहन नगर्ने हो भने हामी उपलब्ध जनशक्ति र प्राकृतिक स्रोतको उपयोग गरेर स्वतन्त्र अर्थतन्त्र निर्माण गर्न र पुँजीका नकारात्मक असरको सामना गर्न असफल हुनेछौं । दुई ठूला अर्थतन्त्र बीच हाम्रा जेजति रणनीतिक र भूराजनीतिक लाभका क्षेत्र छन्, तुलनात्मक लाभका जेजस्ता सम्भावना छन्, तिनको उपयोग गर्न असफल भयौं भने राष्ट्र कस्तो जोखिममा पर्ला केवल अनुमान गर्न सकिन्छ । भारतले पछिल्लो समय ऊर्जा क्षेत्रमा गरिरहेको लगानी र चीनसँग बेल्ट एन्ड रोड परियोजना अघि बढाउन गरिएको ढिलाइले एउटा जोखिमपूर्ण भविष्यको अहिले नै पूर्व संकेत भइसकेको छ । यो सङ्कटको समयमै सही उत्तर दिन उदारवादी र वामपन्थीहरूले सक्नै पर्छ तर यिनीहरुबाट यो उत्तरको संभावना छैन ।
यसरी एकपछि अर्को जटिल आर्थिक र राजनीतिक प्रश्नले जेलिएको आजको सरकार,पार्टी, नेता र यो व्यवस्थाप्रति घर-परिवारसम्म असन्तोष फैलिएको छ । समाजमा दिशाहीनता छ । परम्परागत राजनीतिक दलहरूले उत्तर दिन नसकेका प्रश्नहरू लिएरै आम नागरिकले नयाँ दल , नयाँ नेता र नयाँ व्यक्तिलाई पछ्याइरहेका छन् र `बौलाहा दुर्गे´ले त्यो नयाँ मान्छे म हुँ म सबैलाई मुक्तिको समुद्र तार्छु भन्ने कसम खाइरहेको छ । के यो राष्ट्र र जनता बचाउने कसम खानु अपराध हो ? यो भन्नुमा उसले ले के बिराएको छ ?
अबको खतरा र परिणाम :-
न काङ्ग्रेसहरु उदारवादतिर प्रतिबद्ध देखिए न त आफूलाई वामपन्थी भन्नेहरूले नै निष्ठाका साथ वामपन्थी कार्यसूची बोक्ने इमान कायम गर्न सके त्यसैले आज सामाजिक न्याय हारेको छ। दलाल पूँजीवादले कमजोर जनताको छातीमा दाहृा गाडेको छ । कृषि ध्वस्त भएको छ, असमान भूमि सम्बन्धले,भ्रष्टाचार, सेवा प्रवाहमा अत्याचार,अनुत्पादक शिक्षा, ध्वस्त भएको सार्वजनिक स्वास्थ्य सेवा,महङ्गो संघीयता,कमजोर तर भ्रष्ट स्थानीय तह, ऐन बिहिन कर्मचारी, शिक्षा र ऎन बिहिन प्रहरी आदिका कारण संविधानको पूर्ण पालना भएको छैन र हुने स्थिति पनि छैन । यस्तो नालायकीमा संघीयता, प्रदेशहरू, समावेशी र समानुपातिक प्रतिनिधित्व एवं धर्मनिरपेक्षताका विपक्षमा एउटा जबर्जस्त आवाज अगाडि आएको छ र यो अझै बलियोसँग आउने निस्चित छ ।
उदारवादी र वामपन्थीहरूले यसको प्रतिवाद गर्न सकेका छैनन् र सक्ने छैनन् किन भने उनीहरूसँग संविधानको भावनालाई अक्षरशः लागू गर्ने र राज्यका अंग र संस्थाहरूको दलीयकरण अन्त गर्ने नैतिकता बल नै समाप्त भइसकेको छ । दलाल पुँजीपतिको साझेदार दल र नेतृत्वले औद्योगिक पूँजीको विकास गर्ने वा किसानहितको रक्षा गर्ने कुरा केवल बकवास मात्र हो र जनतालाई छल्ने तिकडम मात्र हो । अब जनता यस्तो छलीकुरा पत्याउन तयार छैनन् । यस्तो अवस्थामा हुनु दल असफल हुनु नै हो । समाजलाई बाटो देखाउने काममा दलहरू असफल भएको परिस्थितिमा समाजले दक्षिणपन्थी फाँसीवादको बाटो लिन्छ । दुर्गा प्रसाईँमा यस्तो विचारले जबर्जस्त डेरा जमाएको छ। जानेर वा नजानेर उनले आफूलाई जङ्गबहादुर घोषणा गर्नुको वैचारिक धारा दक्षिण पन्थी फाँसीवाद नै हो । प्रकारान्तरले दुर्गा प्रसाईँले आफ्नो अभियानमा इमान्दार हुन सके भने उनको विचारधारा वामपन्थ र उदारवाद दुवैको निषेधबाट राष्ट्र रक्षा र गरिबीको अन्त्य हो । अहिले स्थापित हुँदै गएको लोकप्रियतावादी राजनीतिले धार्मिक र जातीय श्रेष्ठता, क्षेत्रीय श्रेष्ठता, सभ्यताको श्रेष्ठताको दावी गर्छ । यस्तो विचारलाई जनताले साँच्चै साथदिए र आफ्नो सङ्कटको निकास ठान्न पुगे भनेँ दुर्गालाई बौलाहा भन्नेहरु नै बौलाहा हुने स्थिति आउँछ । होइन दलहरूले यो विचारको प्रतिबाद गर्न सके भनेँ दुर्गा र दुर्गाहरु बौलाहा प्रमाणित हुनेछन्। को हो बौलाहा आगामी राजनीतिले प्रष्ट देखाउने छ। जय बौलाहा राजनीति ।

 

  • #ज्योतिकिरण #दुर्गा प्रसाईँ #भृकुटी न्यूज # काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv