सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेस भए बहुमतका साथ पारित हुने दाबी गर्नुभएको छ । आज बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता महतले यस्तो बताउनुभएको हो ।
उहाँले बैठकमा स्थानीय चुनावको बारेमा छलफल भएको पनि बताउनुभयो । प्रवक्ता महतले बैठकमा वक्ताहरूले बोल्ने क्रम नसकिएकाले भोलि शुक्रवार पनि छलफल चल्ने बताउँदै आजको बैठकमा स्थानीय निकायको चुनाव, भातृ सङ्गठनहरूको समयसीमा र एमसीसीको विषयमा चर्चा गरिएको बताउनुभयो ।
बैठकमा वक्ताहरूले एमसीसीलाई कसरी चाँडै निष्कर्षमा पुर्याएर टुङ्ग्याउने भन्ने कुरामा छलफल भएको बताउनुभयो । उहाँले एमसीसी संसदमा लैजान नहुने कुनै कारण नरहेको भन्दै चाँडै यस विषयको निष्कर्षमा पुग्ने बताउनुभयो ।