६ असार,काठमाडौँ। कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदैछ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भर्न लागेको हो । विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज आज बिहान ९ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । पर्यटनमन्त्री किरातीले चीनबाट आउने चार्टर्ड उडानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताए । उनले पर्यटकले पोखराका सबै होटल खचाखच भएको सुन्न पाउँदा हर्षित भएको सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।
सिचुवान एयरलाइन्सको जहाज पोखरामा करिब एक घन्टा रोकिएर त्यसपछि मध्याह्न काठमाडौं उड्ने गरी उडान तालिका तयार गरिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २२ अर्ब लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान हुन लागेको हो