काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मन्त्री रामनाथ अधिकारीले गर्दे आईरहेको कामप्रति असन्तुष्टि जनाएका छन् । मन्त्रालयले सम्पादन गरिरहेका कामको प्रगति र समस्या जानकारी गराउन पुगेका कृषि मन्त्री, सचिव सहितको टोलीलाई प्रधानमन्त्री ओलीले मन्त्रालय मातहतमा रहेको प्रधानमन्त्री बृषि आधुनिकीकरण परियोजनाबाट प्रधानमन्त्री नाम तत्काल हटाउन समेत निर्देशन दिएका छन् ।
रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न कृषि मन्त्री र मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले रासायनिक मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सँधै समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन समेत मन्त्री अधिकारीलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउने खालको कृषि नीति बनाउन र विद्यमानरुपमा आवश्यक भएका संरचनाहरु थप गरी स्रोत साधनको उपयोगिता बढाउन आग्रह गरे ।
प्रधानमन्त्री कार्यालयमा भएको सो वैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव एकनारायण अर्याल, कृषि मन्त्रालयका सचिवद्वय डा गोविन्द शर्मा र डा राजेन्द्रप्रसाद मिश्रसमेत सहभागी थिए ।