काठमाडौं : नेपाल सरकार तथा सहकारी अभियानको संयुक्त आयोजनामा आगामी चैत्र २० गते राष्ट्रिय सभा गृहमा ६८ औं राष्ट्रिय सहकारी दिवस एवम् अन्तराष्ट्रिय सहकारी वर्ष २०२५ मूल समारोह हुने भएको छ ।
राष्ट्रिय सहकारी दिवस एवम् अन्तराष्ट्रिय सहकारी वर्ष मनाउन १५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने २५ सदस्यीय कार्य व्यवस्थापन समिति समेत गठन गरिएको छ । कार्य व्यवस्थापन समितिको संयोजकमा रजिस्ट्रार उमेश ढुंगाना रहेका छन् । आइतबार कार्य व्यवस्थापन समितिको पहिलो बैठक समेत बसेको छ ।
समारोहमा गरिने मुख्य कार्यक्रम सहकारी गानको सार्वजनिकीकरण, सहकरी वर्ष लोगो अनावरण, पुरस्कार घोषणा, साँस्कृतिक कार्यक्रम, थीम सार्वजनिकीकरण लगायतका गतिविधि सम्बन्धमा बैठकले निर्णय गरेको छ ।
बैठकमा मन्त्रालय, विभाग, महासंघका सञ्चालक तथा केन्द्रीय, प्रदेश र जिल्ला तहका संघहरुका प्रमुखहरुको उपस्थिति थियो । बैठकले देश भर मर्यादित सहकारीः समुन्नत समाज थीममा देशव्यापी रूपमा दिवस मनाउन सहजीकरण गर्ने तय गरेको छ ।
व्यवस्थापन समितिका सहसंयोजकमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेल र सदस्य सचिवमा महाप्रबन्धक सुरेश थापा रहेका छन्।