राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र र राजसंस्थाबारे जनतामा जागरुकता ल्याउने निर्णय गरेको छ । आज बसेको केन्द्रीय पदाधिकारी बैठकले देशव्यापी प्रशिक्षण तथा कोणसभा गर्ने निर्णय गरेको हो । पार्टीको संगठनलाई सुदृढ र क्रियाशील तुल्याउँदै सबै स्थानीय तहमा उम्मेदवार उठाउने भएको छ ।
पार्टीलाई सशक्त बनाउन कोणसभा र घरदैलो अभियान चलाइने भएकोे प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । यस्तै पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापालाई पार्टीमा फर्किन आव्हान गरेको छ । आफ्नो निर्णयमा पुर्नविचार गरी पार्टीमा स–सम्मान फर्किनका लागि आव्हान गरेको हो । पूर्वअध्यक्ष थापाले उठाएका विषयहरुमा पार्टी छलफल गर्न तयार भएको र पदाधिकारी बैठक समेत बोलाइसकिएको अवस्थामा थापाले पार्टी परित्याग गर्नुभएको थियो ।
राप्रपाले पूर्व अध्यक्ष थापाले पूर्ववत् निर्णय पुर्नविचार गरी पार्टीमा सक्रिय हुने आशा राखेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । बैठकले नवराज सुवेदीको संयोजकत्वमा प्रवक्ता भक्तिप्रसाद सिटौला, वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य रहनुभएको तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ । समान विचार भएका व्यक्ति, समुह वा दलसँग पार्टी एकता अथवा सहकार्य गर्ने नीति रहेको जानकारी दिनुभयो । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते काठमाडौंमा बोलाइएको छ ।