९ जेष्ठ,काठमाडौ,कृषिप्रधान मुलुकका नामले परिचित भए पनि हाम्रो मुलुक अहिलेसम्म कृषिमा पूर्ण रूपमा आत्मनिर्भर हुन नसकेको अवस्था छ । मुलुकका अधिकांश ठाउँमा सिँचाइ सुविधाको अभावले गर्दा हाम्रो खेती प्रणाली मनसुनमा निर्भर छ। अनुकूल मौसमका बखत खाद्यान्नको उत्पादन समेत वृद्धि हुने तर प्रतिकूल मौसममा उत्पादनमा गिरावट आउने नियतिबाट नेपाली कृषि प्रणालीले छुटकारा पाउन सकेको छैन। यो वर्ष नेपालमा हिउँदमा समेत पर्याप्त वर्षा नभएको र मनसुनमा पनि कम वर्षा हुने आकलन गरिएकाले खाद्यान्नको उत्पादनमा गिरावट आउन सक्ने अनुमान छ । यसले गर्दा आगामी दिनमा मुलुकमा खाद्य सङ्कटको जोखिम बढ्ने भन्दै विज्ञहरूले चेतावनी दिन थालेका छन् ।
सामान्य अवस्थामा पनि नेपालमा मागको तुलनामा खाद्यान्न उत्पादन न्यून हुने गरेको छ। देशमा सरदर वार्षिक करिब ८५ देखि ९० लाख मेट्रिक टन खाद्यान्नको माग हुन्छ। मागको तुलनामा हरेक वर्ष करिब आठदेखि १० लाख मेट्रिक टन खाद्यान्न कम उत्पादन हुने गर्छ। यस पटकको हिउँदमा जम्मा २१ प्रतिशत मात्रै वर्षा भएको तथ्याङ्क छ । वर्षायाममा पनि सुक्खा खडेरी पर्ने देखिएको हुँदा भोकमरी, कृषि उत्पादनमा कमीलगायत सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिन सक्ने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले पूर्वतयारीका साथ विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञले सुझाएका छन् ।
हालै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाल कन्ट्री रिपोर्ट (मे २०२३) सार्वजनिक गर्दै नेपालमा खाद्य असुरक्षा र जलवायु परिवर्तनको असर बढ्दै गएको जनाएको छ । आइएमएफले सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा गरिबी र खाद्य सुरक्षालाई रेमिट्यान्सले केही हदसम्म भरथेग गर्न खोजे पनि जलवायु परिवर्तनको असर व्यवस्थापनमा उल्लेख्य प्रगति हुन नसकेको उल्लेख गरेको छ । खाद्य असुरक्षाबाट नेपालको एकतिहाइ जनसङ्ख्या प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । विश्व खाद्य कार्यक्रमलाई उद्धृत गर्दै आइएमएफले नेपालको १८ प्रतिशत जनसङ्ख्याले पर्याप्त पोषणयुक्त खाना नपाएकोसमेत उल्लेख गरेको छ ।
देश गम्भीर खाद्य सङ्कटको जोखिममा,सरकार बेखबर
देश गम्भीर खाद्य सङ्कटको जोखिममा,सरकार बेखबर

तपाईको प्रतिक्रिया